अमेरिकामा नेपाली चलचित्र महोत्सव हुने

वासिङ्गटन डिसी,फेब्रुअरी १ । अमेरिकाको राजधानी वासिङ्गटन डिसी क्षेत्रमा तीन दिने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । यस्तो महोत्सव आगामी मे महिनाको ५,६ र ७ तारिखका मितिमा हुने आयोजक नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभएको छ । बराइलीका अनुसार, यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृतिसम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको छ ।

नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलोपटक यस्तो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा मूलतः नेपालका फिचर फिल्म,वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभरि बनेका चलचित्रहरु समेत यस महोत्सवमा समावेश गरिने निर्देशक बराइलीले जानकारी दिए । चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता÷निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ बराइलीले भने ।

महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।

सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन पनि सुरु गरेको बराइलीले बताए ।

महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तिहरु, नेपाल लगायत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिनेछ । महोत्सवमा सहभागिताका लागि नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरिका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन समेत आयोजक संस्थाले अनुरोध गरेको छ ।

विस्तृत जानकारीका लागि यो इमेलमार्फत सम्पर्क गर्न सकिनेछ: nafilmsociety@gmail.com

Leave a Reply